साउदीमा आप्रवासी कामदारमाथि थप कडाइ, कम्पनी छोडेर हिँड्न नपाउने


तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहरुले थप कडाइको सामना गर्नुपर्ने भएको छ । उनीहरुले अब स्पोन्सर अर्थात रोजगारदाता कम्पनीसँग करार तोडेर सजिलै अन्यत्र काम गर्न नपाउने भएका छन् ।
रोजगारदातासँग करार तोडेको खण्डमा आप्रवासी कामदारले जरिवाना, निर्वासन र साउदीभित्र प्रवेशमा स्थायी प्रतिबन्धको समेत सामना गर्नुपर्ने कडा नियम लागू गरिएको हो ।
त्यहाँको राहदानी विभागले आफ्ना देशका नागरिकलाई पनि अपील गरेको छ कि उनीहरुले स्पोन्सर कम्पनीसँग सम्वन्ध तोडेका विदेशी कामदारहरुलाई कुनै काम नदिउन् । यदि त्यसो गरेको खण्डमा उनीहरुलाई भारी जरीवाना वा जेल सजायँ हुन सक्ने एजेन्सीहरुले जनाएका छन् ।
मानवअधिकारकर्मीहरुले भने साउदी सरकारको यस्तो निर्णयको विरोध गरेका छन् । कतिपय मानवअधिकार संगठनहरुले पहिले पनि स्पोन्सर कम्पनीसँग सम्वन्ध तोड्न नपाइने व्यवस्थालाई अन्त्य गर्नुपर्ने माग गरेका थिए । उनीहरुले यसलाई एक प्रकारको दासत्वको संज्ञा दिएका छन् ।
हाम्रा कामदारहरु खुशी छन्ः श्रम मन्त्री
साउदी सरकारको दाबी छ कि यो नियमले प्रवासी कामदारहरुलाई कुनै समस्या पर्ने छैन ।
साउदी अरबका श्रम मन्त्री मुफरेज अल हकबानीले आफ्नो देशमा काम गर्ने अधिकांश श्रमिकहरु खुशी रहेको बताए । उनी भन्छन्, ‘हामीकहाँ एक करोड विदेशी श्रमिकहरु खुशी साथ काम गरिरहेका छन्, एउटा-दुईटा कम्पनीले गल्ती गर्दैमा हाम्रो सिंगो श्रम बजारको राम्रो छवि धुमिल हुँदैन ।’
यद्यपि, हालै आएका खबरहरुले सरकारको मन्त्रीको दावीमा दम नभएको सावित गरिदिएका छन् । अगस्टको शुरुमा साउदी अरबमा करिब १० हजार भारतीयहरु फसिरहेको खबर आएको थियो । फसेका भारतीय श्रमिकहरुले धेरै महिनादेखि आफूहरुले मासिक तलव नपाएको गुनासो गरेका थिए । भारत सरकारले दवाव दिएपछि साउदी सरकारले उनीहरुमाथि ध्यान दियो ।
यस्तै अवस्था नेपाली कामदारहरुको हकमा पनि देखा परेको छ । त्यहाँ अभर परेका कामदारहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत दूतावासलाई निर्देशन दिइसकेका छन् ।
त्यस्तै पाकिस्तानका कामदारहरुले पनि साउदीको दुरावस्थालाई लिएर गुनासो गरेका छन् । पाकिस्तानका श्रमिक सरदार नसीर भन्छन्, ‘त्यहाँको अवस्था एकदमै खराब छ । राम्रो खाना खान पाइँदैन । स्वास्थ्य र सफाइ पनि राम्रो छैन । कामदारहरु बिरामी हुँदा उपचार पाउन सक्दैनन् । किनकि उनीहरुसँग बिमा हुँदैन ।’
साउदी अरबमा विदेशी कामदारमाथि शोषण भइरहेको अन्तर्राष्ट्रिय मिडियामा समाचार आउने गरेको छ । कामदारहरुलाई सुरुमा भनिए अनुसारको काम नमिल्ने, कामको वातावरण राम्रो नहुने, कामदारको पासपोर्ट स्पोन्सर कम्पनीले कब्जा गर्नेलगायत समस्याहरु देखिने गरेका छन् ।
यद्यपि साउदीका श्रम मन्त्री हकबानीको भनाइमा अपवादका यस्ता घटनाहरुलाई लिएर सिंगो देशप्रति खराब धारणा बनाउनु मनासिन हुँदैन । उनी भन्छन्, ‘सबै विदेशी कामदारले गुनासो गरिरहेका छैनन् । एउटा कम्पनीका ३० हजार जनाले गरेको गुनासोलाई आम धारणाका रुपमा लिनु हुँदैन ।’
-बीबीसीको रिपोर्टमा आधारित

Namecheap.com
कृपया आफ्नो सुझाब तल कमेन्ट बक्स मा दिनुहोला |